मृत्यूले दुखाएको मन

मृत्यूले दुखाएको मन

नम्रता गुरागाईं,

मोरंग हाल नेब्रास्का

( This write-up is written in the loving memory of my grand-father Late. Pundit Dharani Dhar Guragain )



जुलाइ १७, २००८ विहीबार विहान सधैजस्तो चिया खाएर कम्प्युटरमा इमेल हेर्दै थिएं। श्रीमानजी अफिस गैसक्नुभएको थियो। केटाकेटी ब्रेकफास्ट खाएर कार्टुन हेर्दै थिए। सधै उनिहरुलाइ आधाघण्टा जति पढन, लेख्न राख्ने गरेकोले आज पनि त्यसैलाइ निरन्तरता दिन खोजिरहेकी थिएं। उनिहरुलाइ चिप्स मन पर्ने भएकोले मैले पनि चिप्स दिएर पढन बसाउने बानी गरेकी थिएं। चिप्स खान मन लागेर पनि उनिहरुअब पढने बेला भयो मामुभन्थे। पनि यहि बेला हो केही सिकाउने भनेर अलि अलि नेपाली, अंग्रेजी म्याथ सिकाउथे। नभन्दै नानी अंग्रेजी राम्ररी नै पढन लेख्न सक्ने भइ साथसाथै नेपाली सामान्य वाक्यहरु पनि राम्रैसंग लेख्न लेखेको कुरा पढन सक्ने भएकी छे। बाबु पनि हामी सबैको नाम लगायत १५, २० वटा शब्दहरु आफै लेख्छ नेपालीमा। केटाकेटीलाइ पढन बस्नलाइ बोलाउदै थिएं। फोनको घण्टी बज्यो किरिरिंग..................किरिरिंग....... कसले फोन गर्यो भनेर हतार हतार उठाउन गएं। साधनाले गरेकी रहिछे।दिदी सुन्नुभो ......एउटा ब्याड न्यूज?” उसले एकै सासमा भनी। हतासिएर मैलेके अहं मैले सुनेको छैन के भयो भन्नभने। उसलेतिनपैनीमा हाम्रो हजुरबा बित्नु भएछ ............ ” भनी। उसले फेरी थपि कलेज जांदैछु , फोन नै लागेन घरमा, डयाडी ममी जानुभैसकेछ , मलाइ दिन जुठो लाग्छ रे खंगरंग भएं। फोन हातबाट खस्यो। भुइमा बसेर मैले संझनामा राखेको ठुलाबाका पानाहरु पल्टाउन थाले। उसको आफनै हजुरबा उसलाइ पीर पर्यो नै होला तर उसलाइ भन्दा धेरै नै पीर परेजस्तो लाग्यो मलाइ किनकि काठमाडौमा नै जन्मिइ, हुर्कीइ। उसले हजुरबा हजुरआमासंग बस्ने मौका पनि पाइन बसाइको कारणले। पढाइ सकिएपछि काम गर्न थाली झन उसलाइ फुर्संद कति भयो होला र। अहिले विवाह भएर यो अमेरिकाको ल्फोरिडा राज्यमा आफनो श्रीमानका साथ बस्छे अब झन फोनमा संचो विसंचो सोध्ने बाहेक के हुन सक्छ तर त्यही माटोमा जन्मिए, त्यही धुलोमा लडिबडी गर्दै हुर्किएं जहा ठुलाबाले गीत गाउदै वारी पारी गर्नु हुन्थ्यो। वहाका दुइवटी श्रीमती अर्थात मेरा दुइवटी ठुलीआमाहरु हुनुहुन्छ। सायद जेठीसंग विवाह घरको आवश्यक्ताले गर्नु भयो होला कान्छीसंग रहरले गर्नुभयो होला। दुइपटीका गरेर वहाँका एक दर्जन छोराछोरी मेरा दाजु दिदीहरु हुनुहुन्छ सबैजना। वहाँका दुइटा घरलाइ एउटा सानो खोलाले छुटयाएको थियो। अहिले वहाँहरु पनि वारी नै वस्नुहुन्छ तर जतिखेर घरमा थिए ठुलाबा बस्ने घर चाहि पारी थियो। खोलामा सानो एउटा काठको पुल थियो। वारी पारी गर्दा त्यो पुल हल्लिएर सधै लडिएलाकि जस्तो गरेर हामी तर्थ्यौ। मैले पढने गरेको स्कूल ज्योति नि.मा.वि. हाम्रो घर नजिकै भएकोले वहाको पारी घरको बाटो नै जान्थे धेरैजसो छोटो भएर। हातमा किताब बोकेर पुल वारी पारी गर्दा मैले भेटिरहन्थे ठुलाबालाइ। भेटदाछोरी स्कूल हिडिसभन्नुहुन्थ्यो।यो ठुली भइसकि हेर्दा हेर्दैभन्नुहुन्थ्यो। मलाइ पनि ठुली भनिदिएले साच्चै ठुली भएछुकि जस्तो लाग्थ्यो आफूलाइ। गजक्क पथर्ंे ठुली भनेको सुनेर। हाम्रो पनि अलिकति खेत पारी भएकोले खेतमा जान पनि हामीलाइ त्यो पुल तरिरहनु पर्थ्यो। कहिले पुलमा नै कहिले पुल तरिसकेपछि भेटथे वहाँलाइ। भेटने वित्तिकै हातमा किताब नदेख्दाकान्छिछोरी खेतमा हिडिस आज धेरै काम गर्छे कि क्या हो यसलेभनेर जिस्क्याउनुहुन्थ्यो। गर्न कति गर्थे होला मैले काम तर ठुलाबाले सधैं जिस्क्याउनुहुन्थयो। बिहान पारी खाना खानुहुन्थ्यो बेलुका वारी। जब मैले कक्षा पास गरंे त्यसपछि मलाइ अर्कै स्कूल जानुपर्यो। त्यो स्कूल पुग्न घरबाट ४५ मिनेट जति हिडनु पर्थ्यो। त्यसपछि चाहि कि वहाँको पारीघर जान कि खेतमा जान मात्र पुल वारी पारी गर्थें म। अहिले अमेरिकाको एउटा घरको भुइमा बसेर संझनामा राखेको ठुलाबाको विगत खोतल्न लागिराखेकी छु। बुवा ठुलाबा सानो हुदा असाध्य रमाइलो गर्नु हुन्थ्यो। जहिले पनि हाम्रो गाइ दुहुने बेलामा प्रायजसो विहान बेलुका नै ठुलाबा आउनुहुन्थ्यो। खै कुरा के गर्नु हुन्थ्यो संझन सक्तिन तर वहाहरु गफ गरेर मरीमरी हाँस्नुहुन्थ्यो। दशैको किनमेलदेखि लिएर मौसम अनुसारको खानेकुरा किन्न हिडिराख्नु हुन्थ्यो वहाँहरु। किनमेल गर्न दाजुभाइ संगै जानुहुन्थ्यो। सामान किन्न धेरैजसो धरान जानुहुन्थ्यो। धरानबाट कहिले ुसुन्तलाको बेारा कहिले भुइकटहरको बोरा, कहिले आंपको बोरा कहिले पहाडे साग मुलाकेा भारी लिएर घर आउनु हुन्थ्यो। सायद त्यतिखेर होलसेल किनबेच गर्ने ठाउ धरान नै भएको हुनुपर्छ। एक पल्ट सान्दाजुले भुइकटहर काट्दा काट्दै खान हतार परेर मागेर खाँदा मैले आँखासुद्दै खाएकोले कोक्याएर मुख पपरपराएको अहिले जस्तो लाग्छ मलाइ। अग्लो मान्छे, चेप्टो, शरीर, सुकिलो लुगा लाएर चिटिक्क परेर गीत गाउँदै गाउँदै हिडनु पर्थ्यो ठुलाबालाई। वहाँले धेरैजसो गाउने गीतधुरु धुरु नरोउ आमा तिम्रो पालो आइपुग्यो अब हुन्थ्यो। कहिले कान्छा ठटटैमा यो बैंस जान लाग्यो.......... ” भन्दै वारी पारी गर्नु हुन्थ्यो। हामी हास्थ्यौ मरीमरी गीत गाएको सुनेर। अझ हामीलाइ देख्नुभयो भने अरु पनि गीत गाउँनुहुन्थ्यो। त्यसो मेरो बुवा पनि कहाँ गीत नगाउने हो र। वहाँ पनि कान्छा....., सिरीमा सिरी नी कान्छा बतासै चल्यो......., द्यौराली उकाली चढेर.. विजयपुर खोला तरेर कान्छीलाइ बोलाउदा बोल्दिन....... ” मज्जाले नै गाउनुहुन्थ्यो। हामी मज्जाले आनन्द लिन्थ्यौं दाजुभाइको गीत सुनेर। हाम्रा त्यहाँ शुरुमा चारओटा घर मात्र थिए ठुलाबाका दुइटा , हाम्रो काकाको। वरीपरी त्यहाँ हाम्रो मात्रै घर भएकोले सबैले गुरागाईं टोल भन्थे। हाम्रो आमा बुवालाइ ठुलाबाका छोराछोरीले काका काकी भनेकाले अझैसम्म भर्खर जन्मेकादेखि लिएर बुढासम्म सबैले वहाँहरुलाइ काका काकी भन्छन। गाउकै काका काकी हाम्रा आमा बुवाहरु हुनुभएको अहिलेसम्म। आमा मावल गएर आएपछि ठुलाबा हाम्रो घरमा आउनुहुन्थ्यो।काकी के ल्यायौ माइतबाटभन्नु हुन्थ्यो। आमा पनि हतार हतार सारी टाउकोमा हाल्दै पिरा ओछ्याइ दिनुहुन्थ्यो। बुवा ठुलाबालाइ माइतबाट ल्याएको कोशेली स्वरुप कुराउनी चिउरा, बदम के के ल्याउनु भएको खान दिनुहुन्थ्यो। वहाँहरु दुबैजना मिठो मानी मानी पहाडको कोशेली खानुहुन्थ्यो। कोशेली जस्तै मिठा मिठा पहाडका गफमा धनकुटालाइ धेरै फेरो मार्नुहुन्थ्यो। आमालाइ माइतको हालखबर सोध्नुहुन्थ्यो। हिडने बेलामा आमाले एउटा सानो आरीमा छुटयाइदिएको अलिकति डुकु, कागती, कांक्रो मुला लिएर खुशी हुँदै घर जानु हुन्थ्यो। नयाँ खानेकरा अरुलाइ पनि दिने तर आफ्नो हातले मात्र बाडन पाउन पर्थ्यो वहालाई। त्यसैले अरु छोराछोरीलाईयो खानेकुरा छोयौ भने काट्छुनी मलाइ काकीले पठाएदिएकोभन्नुहुन्थ्यो। ठुलाबालाइ माछा धेरै मन पर्ने भएकोले घरमा माछा पकाएको दिन बुवाले बोलाउनु हुन्थ्यो। हामी पनि कहिलेकाहिँ पारी गएर खान्थ्यौ। तिथी श्रादद, पुजामा सबै भेला हुन्थ्यौ। जाडो महिनामा कहिले ठुलाबा हाम्रो घरमा आगो ताप्न आउँनुहुन्थ्यो कहिले हामी वँहाको घरमा जान्थ्याँै। जब मैले मेरो स्कुले जिवन साजिलाल मा.वि. बाट सिध्याएँ त्यसपछि दिदीसँग काठमाडौ आए पढनलाइ। अब भने मेरो ठुलाबासँक्गको भेट कलेज छुटी भएको बेला मात्र हुन थाल्यो। आइ.. पढन लाग्दा हाम्रो हजुरबा ओछयान पर्नुभएको एक वर्ष जस्तो भएको थियो। दादा खोटांगमा जागिर खांदैँ हुनुहुन्थ्यो। दिदीको विवाह भैसकेको, सान्दाजु दुबैजना काठमाडौमा पढन आएका थियौ। बुवालाइ एक्लै हजुरबाको हेरविचार गर्न धेरै गाह्रो भएकोले हामी फेरी घरको आवस्यक्ताले गर्दा विराटनगर मा पढने गयौं। मैलै आइ.. विराटनगरबाटै सिध्याए। त्यतिबेला पनि ठुलाबासँग भेट भैरहन्थ्यो। केही समयपछि वि.एड. गर्न धनकुटा गएँ। कलेज छुटटीमा घर आउँदा कहिले भेट हुन्थ्यौ कहिले हुदैनथ्यो। भेटदाखेरीकान्छीछोरी कहिले आइस, कहिले सिध्याउछेस पढाइ , अरुले नगरे पनि कान्छीछोरीले गर्ने भइभनेर मलाइ फुर्क्याउनुहुन्थ्यो। धनकुटामा आफूले चिनेजानेका मान्छेका बारेमा सोध्नुहुन्थ्यो। मेरो पढाइ बसाइको बारेमा निकै नै चासो देखाउनु हुन्थ्यो। जब एम.. गर्न काठमाडौ आए त्यसपछिदेखि मेरो वहासँगको भेट धेरै नै पातलियो। काठमाडौ बस्ने क्रममा अलि बढि नै ब्यस्त भएँ। पढाइ सकेपछि मेरो कलेजमै सानो जागीर पनि थियो। ब्यस्त हुँदा हुंँदै विवाह भयो। घर माइत अलि टाढा नै परेकोले विवाह पछि झन थोरै दिनको लागि सुन्दरपुर जान थालंे म। कहिले भेटथे कहिले भेटतिनथे वहाँलाइ। सबैजनालाइ सन्चै भएकोले मैले पनि आफ्नै कुरामा बढि ध्यान दिन थालें। यतिकैमा श्रीमानजी पढाइको सिलसिलामा अमेरिकातिर लाग्नु भयो। त्यसपछि झन धेरै नै ब्यस्त भएँ। जागीर पनि खानै पर्यो। वहाँको आमा बुवा मेरा आमा बुवाभन्दा अलि बुढाबुढी नै हुनभएको बुढेसकालमा कान्छो छोरा विदेश लागेकाले वहाँहरुलाइ सम्झाउनका लागि मात्रै भएपनि भ्याएको बेला घरमा पनि जानै पर्यो। जसरी भए पनि दिन वित्दोरहेछ। हामी पनि एक अर्कामा छुटिएर बसेको वर्ष भइसकेको रहेछ। भेट हुने दिन गन्दा गन्दा बल्ल बल्ल मेरो दिन आयो अर्थात मैले अमेरिका आउनको लागि भिषा पाएँ। जाने बेलामा एकपटक आमा बुवालाइ भेटन जानुपर्यो भनेर माइत गएँ। त्यसबेला पनि भेट भयो ठुलाबासँग। लामो समयपछि आफ्नो मान्छेसंग भेट हुने सुखद क्षण एकातिर हुदाहुदै पनि आफनो घर, परिवार देश नै छोडेर पराइ ठाउँमा जान लाग्दा मन भारी नभएको कहाँ हो र। तर पनि बेला बेला फुटेको मनको बाँधलाइ थुन्दै परदेशतिर लागें। जब देश छोडेर परदेश आएँ त्यसपछि मेरा वितेका वर्षहरुमा आफना मान्छेसँगको भेट मात्र फोनमा सिमित भयो। फोन नलागुन्जेलको भारी मनलाइ फोन लागेपछिका संच सुविस्ताका खबरले हल्का बनाउथे। एक पटक आफन्तसँग कुरा गर्न पाए धेरै फूर्तिलो हुन्थे। अब पहाड नै बोक्न सक्छुजस्तो लाग्थ्यो। सम्झने वित्तिकै हिडन पनि कहा मिल्दोरहेछ र। हामी दुइ बाट तीन तीनबाट चार भएकाले बल्ल बल्ल अमेरिका आएको पाचँ वर्षपछि सन् २००६ को दशै मान्न हामी हाम्रा छोराछोरी सहित नेपाल जाने भयौंं। केहीदिनपछि त्यो दिन पनि आइपुग्यो। मन उडेर धेरै अघि माइत पुगेपनि मन लाग्ने वित्तिकै हिडन पनि नमिल्ने। फेरी हाम्रा छोराछोरीलाइ कसैले देखेको थिएन। मेरो घर माइतकै सबैभन्दा साना केटाकेटी थिए उनिहरु। घरमा पनि आफू भनेर पर्खेर बस्नुभएका सबैसँग रमाइलो नै गर्नुपर्यो भनेर केही दिन हामीले घरमा नै वितायौं। छोरो सानै थियो। छोरी सबैसँग धेरै अघिदेखि चिनेकोजस्तो गरेर बोल्ने भएकीले पनि हामीलाइ धेरै रमाइलो भयो। जब घरमा टिका लाउने काम सिधियो हामी टिकाको दोस्राे दिन मेरो माइत तिनपैनी गयौं। काठमाडौबाट विराटनगर पुग्दा मलाइ माइत नै पुगेजस्तो भैसकेको थियेा। हामीलाइ लिन आउनु भएको दाजु भाउजु दिदी भिनाजु देख्दा कति खुशी भयो मन के कुरा गर्नु झन आमा बुवालाइ नै दैख्दा के हुने हो भनेर मनमा कुरा खेलाउँदा खेलाउँदै इटहरी, बासबारी हुदै तिनपैनी पुग्यौं। घरमा सबैजना हामीलाइ पर्खेर बस्नु भएको रहेछ। सबैका हसिला अनुहारमा उमेरका रेखाहरु थपिएको स्पष्ट देखिन्थे। आमाको अनुहारमा भने धेरै देखें मैले। कान्छी छोरी धेरै टाढा भएर पनि आमाले धेरै पीर गर्नुभयो होला कि जस्तो लाग्यो मलाइ। आमाकी नानी मेरी नानी भएको वहाँले बेला बेला पठाएका तस्बीरहरुमा मात्र देख्नुभएको थियो। मलाइ छोराछोरी सहित देख्दा कस्तो भयो होला कल्पना मात्र गर्थे। टिकाको बेला परेका ले पहिला टिका नै लाउँन तिर लाग्यौ हामी। हामीले विवाह भएपछि बुवाआमाको हातबाट सँगै बसेर दशैको टिका लगाएकै थिएन त्यो पनि अर्कै आनन्द आउने नै भयो। पहिला हजुरआमाको हातबाट टिका लाउन भनेर तल्लो घरमा गयौं। हजुरआमा हेर्दा तगडा नै देखिनुहुन्थ्यो। उमेरले ८५ वर्ष नाघिसक्नुभएको मान्छे आँखा मात्र धेरै कमजोर भएको जस्तो लाग्यो मलाइ। आँखा धमिलो देखिएर हात निधारसम्म पुरयाइदिनु पर्ने रहेछ वहाँले सुन्नेगरी बोल्दा मजाले नै कुरा गर्नु भयो हामीसँग। हजुरआमासँग टिका लाएपछि हामी ठुलाबाकहाँ गयौं। ठुलाबालाइ देखेर छक्क परें। हो..... त्यत्रो शरीर, त्यत्रो स्फूर्ति आज कहाँ गएछ। चिनीरोग देखियो रे ठुलाबालाइ भनेको सुनेकी थिएँ। धेरै परेजमा बस्नु पर्छ रे खान पनि जे पायो त्यही हँुदैन रे ला..... अप्ठयारो गाह्रो रोग पो लागेछ भनेर अलि नरमाइलो चाहि लागेको थियो पहिले नै। तर त्यस्तो मान्छे यस्तेा हुनुहोला भनेर मैले कल्पनासम्म पनि गरेकी थिइन। ओछयान मै विलाइ सक्नुभएको देखेर अलि भाबुक भए। आँखा टिलपिलाए मेरा।छोरी... आइसभन्नुभयो विस्तारी।हेर यस्तो भएँ रोगले गलाउनसम्म गलायो। खान पनि केही हुँदैन, केही भैहालेपनि थोरै खानुपर्छ नत्र चिनी बढेर कहाँ पुग्छ कहाँ। पोहोर साल उठेर टिका लगाइ दिन पनि सकिन। अहिले चाहि बल्ल बल्ल लगाइदिएँभनेर विस्तारै फेरी थप्नु भयो। हामीलाइ बल्ल बल्ल उठेर टिका लगाइदिनुभयो। हाम्रा छोराछोरीलाइ देखेर अलि अलि हास्नुभयो। सधै औसधी खानु पर्नेरहेछ। कुरा गर्न पनि सक्नुभएन राम्ररी। एक छिन हामी बसेर घर आयौं। के खानु हुन्छ भनेर सोध्दा अनार खानुहुन्छ भनेर भाउजुले भन्नुभएकोले मैले अलिकति अनार लिन पठाए दिदीलाइ। उसले ल्याइदिएपछि ठुलाबालाइ अनार लगिदिएर गएँ। खानेकुरा देख्दा पहिला जति खुशी हुनुहुन्थ्यो मैले दिदा त्यति खुशी चाहि हुनुभएन अलि अलि हास्नु चाहि भयो। सायद त्यो औषधीकै रुपमा खाएर पनि त्यस्तो भएको थियो होला। मेरो पनि फर्कने दिन आइसकेकोले धेरै बसेर कुरा गर्ने समय पनि भएन मलाइ। दादाहरु इटहरीमा वस्ने भए पनि धेरै जसो तिनपैनीमा बुवाआमासँगै बसेकीले त्यहाँ बसुन्जेल हेर्न भने गैरहंे। नेपालबाट फर्केपछि मनले चाहि हरेस नै खाइकसकेको थियो वहाँलाइ सझिंदा। फोनमा कुरा गर्दा आमा बुवालाइ सोधिरहन्थे वहाँको बारेमा। यसपाली फेरी दशैमा घर जाने भयौ हामी। अब फेरी सबैजनासँग भेट हुने भयो भनेर खुशी भएको बोरै भयो। हतार हतार फोन कार्ड किनेर घरमा फोन गरेको आमाले उठाउनुभयो। तैले सुनिसकिस भन्नु भयो आमाले। सान्दाजुसँग धेरै बेर कुरा गरें। कसैले थाहा नपाइ जानुभएछ। थाहा पाउँदा धेरै बेर भएको जस्तो लाग्थ्यो रे। टाडा हुनुको पिडा बोकेर दिनभरी ठुलाबालाइ आखाभरी देखिरहें। वहाका विगतहरु सिनेमामाजस्तै आइरहे। हरे अब ति दुइवटी ठुलीआमाहरुलाइ मैले कस्तो रुपमा देख्छु होला नी भनेर फेरी अर्को चिन्ताले सताइरहयो मलाइ। वहाहरु सौन्दर्य विहिन देख्दा मलाइ कस्तो हुन्छ होला संझिदा अहिले नै आंखा रसाउछ। आखिर सबैले एकदिन यो धर्ती छोडनै पर्छ तर मृत्युले मान्छेलाइ किन दुखाउछ सधैं। सायद मायाले गर्दा नै घर दुखेको होला, आफन्त दुखेको होला, छिमेकी दुखेको होला दुख्दा दुख्दै सिंगै देश नै दुखेको होला।



7 comments:

उजेली said...

मलाई पनि धेरै नराम्रो लागेको थियो यो क्षण !!!

Sadhana Sharma said...

Aafu tadha bhaye pachhi ta jhan ekdum "Bibas" bhayeko jasto kasto kasto feel hudo raichha.....

दीपक जडित said...

माया हो नि त यो । पहिले मैले यौटा गीतमा लेखेको थिएँ ' एकपल्ट सबैले भोग्नै पर्ने शोक हो माया ' जति नै कम भोग्नेले पनि एकपल्ट मायालाई शोकमा पनि भोगेरै हेर्नुपर्छ । लेखले छोयो , नम्रता दिदीको यदकदा रचनाहरु पढ्ने गरेको छु ।

आकार said...

सबैको पिडा एकै किसिम को हुन्छ । मैले भनिरहनु त जरुरी नपर्ला !

Anju said...

i like this reality story...
Keep it up

Rahul said...

As someone rightly said, death is the dark truth of life.

Our deepest condolence to you late grandpa. We can feel your pain.

दूर्जेय चेतना said...

म पनि तपाईंकै साथ मा छु। दु:ख सुख नै जीवन रहेछ है।।।।