Friday, June 5, 2009

:(

उच्च शिक्षा लिन भनी टाढा टाढा गएपनि
भविश्यमा केही बन्न परदेशी भए पनि
पौरख गर्ने तागत हुँदै घर फर्कि आउनु भन्थ्यौ
चर्किएका दलिन टाल्नु, चुहुने छानु छाउनु भन्थ्यौ

लाग्छ अब तिम्रो इच्छा पुरा गर्न सक्दिन म
आमा अहिले आफ्नो घर फर्कि आउन सक्दिन म

हाम्रो घर बेच्नु पर्छ भन्दै छन् रे दाइहरु
विदेशिनै लाग्या छन् रे त्यहाँ भाका भाइहरु
दिदी-बहिनी डराएर कता कुना पस्या छन् रे
छिमेकीका चौकीदार पो आँगनमा बस्या छन् रे

आफ्नै घरमा उसको खटन सहन नै सक्दिन म
आमा अहिले आफ्नो घर फर्कि आउन सक्दिन म

पुग्छ

देश जाओस् भड्खालैमा, सत्ता पाए पुग्छ
काम गर्नु छैन मलाई भत्ता पाए पुग्छ

नेपालीको सेबा गर्न मलाई के खाँचो ?
जसको सिमा जल्ले मिचोस्, मलाई के चासो ?
आफ्ना मान्छे पदमा जता-तत्ता पाए पुग्छ
देश जाओस् भड्खालैमा, सत्ता पाए पुग्छ

मरे अरे गरीबहरु, मेरो ठेक्का हो र ?
बेचिए रे चेली, मलाई किन हेक्का भो र?
नाङ्गिउन् अरु मलाई नाना लत्ता पाए पुग्छ
देश जाओस् भड्खालैमा, सत्ता पाए पुग्छ

रुने सबै रोइरहुन्, म त हाँसेकै छु
मर्ने मरुन्, आनन्दले म त बाँचेकै छु
जहिले जहाँ जसरी नि सत्ता पाए पुग्छ
भिन्न भिन्न शिर्षकमा भत्ता पाए पुग्छ

देश जाओस् भड्खालैमा, सत्ता पाए पुग्छ
काम गर्नु छैन मलाई भत्ता पाए पुग्छ