Wednesday, August 26, 2009

ट्याम्पामा तीज

आफ्नो प्यारो देशबाट भौगोलिक रुपमा जतिसुकै टाढा भएपनि आफ्ना चाड-बाड, आफ्ना संस्कृति, आफ्ना चलन मान्न सकिन्छ भन्ने कुरो हामी नेपालीले नेपालबाहिर बसेर बेला बेलामा मनाउने चाड-पर्वका कार्यक्रमबाट पुष्टि भएकै छ । नेपालमा हुँदा भन्दा नेपाल बाहिर गएपछि देशको र रिती-रिवाजको माया बढी लाग्दो रहेछ, शायद त्यसैले भन्छन् कहिलेकाही दूरीले पनि माया बढाउने काम गर्छ भनेर ।

यसै क्रममा यसपालिपनि समस्त हिन्दू नेपाली महिलाहरुको महान् चाड तीज संयुक्त राज्य अमेरिकाको फ्लोरिडा स्थित ट्याम्पामा भव्यता साथ मनाइएको छ । देवघाट गलेस्वर आश्रमका श्री १००८ स्वामी आत्मानन्द गिरी महाराजको उपस्थितिमा विधी पूर्वक पूजा अर्चना सम्पन्न भएको थियो । कार्यक्रममा ट्याम्पा क्षेत्रमा बसोबास गर्दै आएका अधिकांश नेपाली महिलाको सहभागिता रहेको थियो । पूजा पछिको प्रवचन कार्यक्रममा स्वामी महाराजले गौरी पूजा (तीज) को महत्वका बारेमा चर्चा गर्नु भएको थियो । कार्यक्रमको आयोजना अन्य नेपालीको सहयोगमा पुनम घिमिरे रिसालले गर्नु भएको थियो ।

त्यसै कार्यक्रमका केही झलक :


 
 

Sunday, August 16, 2009

आज फेरि...

आज फेरि त्यही घरको दैलो मैले टेकें
सपनीमा आज फेरि त्यही देश देखें

झलमल्ल हिमालले आभा छर्दै थिए
छहरा-छांगा प्रकृतिमा सुर भर्दै थिए
"सुन्दरता" लेख्न खोज्दा "नेपाल" मैले लेखें
सपनीमा आज फेरि त्यही देश देखें

साना-साना मन्दिरमा नि देवताको वास थियो
उनलाई खुशी बनाउने भक्तहरुको आश थियो
"शान्ती" माग्दै आरतीमा आँखा मैले सेकें
सपनीमा आज फेरि त्यही देश देखें

आज फेरि आफ्नै घरको दैलो मैले टेकें
सपनीमा आज फेरि त्यही देश देखें

सपनीमा आज फेरि त्यही देश देखें।।