Saturday, September 27, 2008

दशैं आको होला

दशैं आको होला


हावासँगै माल श्री धुन बजेजस्तै भाको होला
वातावरण आफैंमा नै सजे जस्तै भाको होला
झकिझकाउ बजारमा भीडभाड होला पक्कै
मेरो गाउँमा आज पनि त्यस्तै दशैं आको होला

एकैछिन् त भुले होलान् दैवीप्रकोप विपत्तिलाई
जीवनका अप्ठ्यारालाई, दु:ख अनि आपत्तिलाई
मधुर मुस्कान हरेकका मुहारमा छाको होला
मेरो गाउँमा आज पनि त्यस्तै दशैं आको होला

कतै पक्कु लाग्ला कतै पाक्दै होला सेल रोटी
मामाघर जान पाउने दङ्ग होलान् केटाकेटी
गमक्क भै प्रकृति नै हाँसे जस्तै भाको होला
मेरो गाउँमा आज पनि त्यस्तै दशैं आको होला
मेरो गाउँमा आज पनि त्यस्तै दशैं आको होला ।।

Thursday, September 18, 2008

किन

जोगी जुन आए पनि कान किन चिर्या हुन्छ ?
जुनै नेताले नि किन नेपालीलाई पिर्या हुन्छ ?

जनताबाटै माथि उठी जनताकै शोषण गर्छ
निर्लज्ज भई हाकाहाकी आफ्नै मात्र पोषण गर्छ
जोगी जुन आए पनि कान किन चिर्या हुन्छ ?
नेता जुनै आए पनि किन यस्तो गिर्या हुन्छ ?

विदेशीका पाउ चाट्न भाषा आफ्नै भुल्नेगर्छ
अस्तित्व नै नभये झै विदेशीकै शरण पर्छ
भित्र ब्वाँसो बाहिर बाहिर म्रिग खोल भिर्या हुन्छ
नेता जुनै आए पनि किन यस्तो गिर्या हुन्छ ?