Wednesday, January 30, 2008

मेरो अनुभव

यो नौलो ठाउँमा म पहिलो पटक क्लासमा जाँदैथिएँ । आफ्ना थुप्रै साथीहरुलाई एकैपटक सम्झिरहेकी थिएँ । रंगीचंगी मान्छेहरुका माझमा आफू एक्लो हुनुको भावले बेला बेलै आँखा भरिइरहेको थियो । यो माहौलमा मेरा कलेजका सबै साथीहरु पनि भैदिए कति रमाइलो हुन्थ्यो होला ! यहाँका ठूला ठूला चौरमा साथीहरु सँग बसेर घाम ताप्दै गफ गर्न पाए कस्तो हुन्थ्यो होला! यस्तै यस्तै सोच्दै मेरो क्लासरुम भित्र छिरें म ! क्लासको कुना तिर को कुर्सीमा चुपचाप बसेकीथिएँ; एउटी खैरी मुसुक्क मुस्कुराएर मेरो छेउको कुर्सीमा बसी ।
"Hi, Did you finish your undergraduate degree from here, or somewhere else?" कुरा गर्न उसैले शुरु गरी । "No. I studied my undergrad in my country, I am new to USA". मैले जवाफ दिएँ । "Oh! You did your undergrad in India?" उसले सोधी । India कहाँ बाट आयो भनेर छक्क पर्दै मैले भनें "India!!!" "You are from India , right?" पुरै कन्फिडेन्सका साथ भनी उसले ! "Oh no! I am from Nepal." मैले पनि पुरै कन्फिडेन्सका साथ उत्तर दिएँ । "Nepal??" अघि मेरो मुहारमा पोतिएको प्रश्नवाचक चिन्ह अहिले उसको अनुहारभरि छताछुल्ल देखियो । "Well, My country Nepal is a small country between India and China ............" मैले नेपालको सानो परिचय दिएँ । सानै परिचयमा पनि सगरमाथा र बुद्धको कुरा सुनाउन भनें बिर्सिइन । उसले छक्क परेर सुनी अनि मलाई छक्क परेर हेरी पनि । त्यो बेलाको उसको भाव देख्दा लाग्थ्यो उसले मलाई एसियाको एउटा सानो देशबाट आएकी केटी होइन, अर्कै ग्रहबाट आएकी प्राणी संझिरहेकी छ ।
भोलीपल्ट अर्कै विषयको क्लास थियो । क्लासरुमभित्रको एउटा कुर्सीमा बसें म, त्यहाँ त विभिन्न देशबाट आएकाहरु एकआपसमा परिचय गर्दैरहेछन् । मेरो पालो आएपछि एउटा निकै मै हुँ भन्ने जस्तो खैरेले म तिर हेर्दै भन्यो - " Now its your turn! Let me guess! Are you from India?" "No" निरास हुँदै भने मैले । रिस त निकै उठ्यो तर फेरि सोच्न बाध्य भएँ म, बिचरा खैरेहरुले हामीलाई चिनुन् पनि कसरी, आखिर नेपाल र नेपाली को किर्ती फैलाउनमा हामीले के नै पो गरेका छौं र, विश्वभरि फैलिने केही राम्रो काम गरे त, चिन्लान् नि यिनीहरुले हामीलाई पनि, मलाई कता कता हीनताबोध भए जस्तो भयो, देशकोलागी आफूले केही गर्न नसकेकोमा ।
मेरा बाले भन्ने गरेको बाउ छोराको लोक-कथामासबैले कुकुर भन्दा भन्दै उनीहरु आफैंले पनि खसिलाई कुकुरजस्तो देखेजस्तै, कतै कुनै दिन मैले पनि "Yes I m an Indian" भन्नु पर्ने त होइन, कतै मेरो अस्तित्व संकटमा पर्ने त होइन, यस्तै यस्तै सोचाइमा मग्न भएँ म ।

आफ्नो नाम तिमीसँग

आफ्नो नाम तिमीसँग जोडिदिएँ मैले
मनको ढोका तिम्रैलागि खोलिदिएँ मैले

आमाबाबा छाडी कहिल्यै कतै जान्न भन्थें
कसैसँग साथ जिउने कसम खान्न भन्थें
आज आफ्नै विरुद्धमा बोलिदिएँ मैले
मनको ढोका तिम्रैलागि खोलिदिएँ मैले

मेरो उन्नतिको स्रोत बन्छ तिम्रो साथ
तिम्रो प्रगतिमा उच्च बन्छ मेरो माथ
जीवनरसमा माया मिठास घोलिदिएँ मैले
मनको ढोका तिम्रैलागि खोलिदिएँ मैले

आफ्नो नाम तिमीसँग जोडिदिएँ मैले
मनको ढोका तिम्रैलागि खोलिदिएँ मैले ।।

Friday, January 25, 2008

भ्रष्टाचार

बाध्यताले भ्रष्टाचार गर्नु सारै राम्रो रैछ
परिवार खुशी राख्नु दायित्व त हाम्रो रैछ

महंगीको जमाना छ, परिवार पाल्नै पर्यो
फेशन अनुसार सबैलाई नयाँ लुगा हाल्नै पर्यो
त्यसैले त भ्रष्टाचार गर्नु सारै राम्रो रैछ
परिवार खुशी राख्नु दायित्व त हाम्रो रैछ

छोरीलाई हेल्थ सेन्टर पठाउनै पर्दो रैछ
जिम सेन्टर ज्वाइन गर्न छोरो अघि सर्दो रैछ
भन्या नभए श्रीमतीको पारो धेरै चढ्दो रैछ
ह्वीस्की चुस्की लिन पाउँदा आफ्नो नि शान बढ्दोरैछ
त्यसैले त भ्रष्टाचार गर्नु सारै राम्रो रैछ
परिवार खुशी राख्नु दायित्व त हाम्रो रैछ

तलबको भरमा आफू पालिन नि गाह्रो हुन्छ
अलिकति घुस नखाई बाँच्न झनै साह्रो हुन्छ
आँखी भइन्छ अफिसमा सत्यवादी मान्छे बन्दा
तेज हुनुपर्छ घुस लिन अरु सबै भन्दा
त्यसैले त भ्रष्टाचार गर्नु सारै राम्रो रैछ
परिवार खुशी राख्नु दायित्व त हाम्रो रैछ

( This poem was written when I was in class eleven, about 6 yrs ago)