Friday, June 13, 2008

बिर्सन नसक्ने क्षण

मेरो मानसपटलमा आजफेरि   एउटा पुरानो क्षण फेरि जिवन्त बनेर आएको छ! साथीले त सुखमा दु:खमा साथ दिन्छन्, म उसलाई साथी भन्न कहाँ सक्छु र ! उ त बस् मेरो जीवनमा केही समयको लागी आई, क्लासमेट बनेर, अनि कहिले बिर्सन नसकिने, त्यो बेला मा असाध्यै चित्त दुखेको अनि अहिले सम्झँदा पनि कस्तो कस्तो लाग्ने घटना दिएर गई ।

कुरो आज भन्दा करिब, १४ वर्ष अघिको हो जस्तो लाग्छ अहिले हिसाब गर्दा, त्यतिबेला म तीन क्लासमा नयाँ स्कुलमा भर्ना भएकी थिएँ । म सँगै एउटै बेन्चमा बस्थी ऊ, निशी, लाउरेकी छोरी भएकीले होला, मेरो बाबाले ब्रुनाईबाट पठाइदेको भनेर कहिले नयाँ ज्योमेट्री बक्स देखाउँथी, कहिले लामो, घुम्रेको पेन्सिल । म चुप लागेर “ए..” भन्दै हाँसिदिन्थें । मसँग देखाउने कुरा केही हुँदैनथ्यो, स्कुल, कलेजमा पढाउने मेरा बाबा-आमाले त्यस्ता कुरा ल्याउनुहोस् पनि कसरी, त्यो मलाई राम्रो थाह थियो !! “ आज त निशीले क्या राम्रो पेन्सिल देखाकी नि,” स्कुलका अरु कुरा सुनाउँदा निशीका कुरा पानि सुनाउँथें म बा-आमालाई । “ तिम्रा बा परे लाहुरे हुने भो नि यस्ता सामान, मेरा बा ता चाउरे हुन्” भनिनस् त? बाले हाँस्दै भन्नुहुन्थ्यो । हामी सबै जना हाँस्थ्यौं अनि आमाले मेरो कपाल मुसार्दै भन्नुहुन्थ्यो “ यो घर बाघ, वन बिरोलोले के भन्न सक्थी “ । बाहिर बाहिर हलुका सँग लिए पनि, भित्र भित्रै भने, निशीलाई नि कहिल्यै केही देखाउन पाए हुन्थ्यो भन्ने ईच्छा पक्कै थियो मेरो मनको कुनै कुनामा ।

नयाँ स्कुल जान थालेको २ हाप्ता जस्तो पछि नै होला, मेरी सानीमा काठमाडौं आएर फर्किने दिन थियो, उहाँले म स्कुल जाने बेलामा “ ला! चकलेट किनेर खा “ भनेर १० रुपिंयाको नोट दिनुभयो । मैले त्यो नोट सम्हालेर राखें । स्कुल पुगेपछि, निशीले आफ्नो ब्यागबाट ठूलो डेरिमिल्क चकलेट निकालेर देखाउँदै भनी –“ हेर म सँग कत्रो क्याडबरी छ बाबै, लोभ गर्ने होइन है, दिन्न म त !” त्यो दिन त मेरो फुर्ती पनि कमको थिएन “मसँग नि दश रुपियाँ छ, किनेर खाइहाल्छु नि खान मनलागे” मैले भनें । “अँ होला, खै देखाउ त” मलाई नपत्याउँदै भनी उसले । मैले पनि ब्यागबाट दश रुपिंया निकालेर देखाइदिएं । उसले छक्क परेर हेरी । अनि ओठ लोपार्दै भनी –“ यस्तो जाबो १० रुप्यामा नि आउँछ होला नि क्याडबरी” ।
हाम्रो स्कुलमा आफ्नो क्लासरुम आफैं सफा गर्नु पर्थ्यो, एकदिन मा १० जनाको पालो हुन्थ्यो । त्यो दिन हाम्रै पालो थियो । सकिन लागेको थियो काम, निशी कराउन थाली “ मेरो ब्यागको १० रुपिंया छैन, कसले चोर्यो, म सबको ब्याग चेक गर्छु । “ उसले पहिले अरुको ब्याग चेक गरी अनि म सम्म आई । अहिले सम्झँदा लाग्छ, निशी उमेर भन्दा धेरै बाठी थिई । “ओ हो यहां छ मेरो दश रुप्या, येल्ले पो चोरेकी रैछ “ त्यस दिन भन्दा अगाडि अनि त्यसपछि पनि कहिले कसैले नलाएको आरोप लगाई निशीले मलाई । “त्यो त मेरै हो नी “ आँखा भरि आँशु पार्दै भनें मैले । “ अँ हो, मेरो रुप्या मा नि यस्तै दाग थियो, यही हो मेरो रुप्या म चिन्दिन र” उसले भनी । “तिमी कस्तो नराम्रो मान्छे रैछौ, पख म यो सब कुरा म्यामलाई भन्दिन्छु..” रुँदै अनि स्टाफ रुम तिर जाँदै भनें मैले । अरु सबै साथीहरु मूक दर्शक बनेर हेर्दै थिए, भनुन् पनि के, उनिहरुले मलाई राम्रो सँग चिनेका पनि त थिएनन् ! म स्टाफ रुम तिर गएको देखे पछि निशीले मलाई रोक्दै भनी – “ ल भैहाल्यो, यो अहिले तिमी नै राख, मलाई भोली ५ रुप्या ल्याइदेउ, आधा आधा गरौं । “ “दिन्न म ५ रुपिया पनि, किन दिनु, यो मेरो आन्टीले मलाई देको पैसा हो, आज नभए पनि भोलि त म म्यामलाई भन्दिन्छु, भन्दिन्छु “ उ डराएकी देखेर अलि दह्री हुँदै भनें मैले पनि । निशी मलाई आँखा तर्दै आफ्नो होस्टेल तिर गई ।
त्यसदिन मेरो मनमा ठूलो चोट लागेको थियो ! आफूले कहिले सोच्न पनि नसकेको आरोप लगाएकी थिइ उसले मलाई । त्यही सम्झँदै, रुँदै रुँदै घर गएँ म । “ त्यस्ले मलाई चोर भनी, म त्यो स्कुल मैं पढ्दिन के, म पुरानै स्कुल जान्छु नि न प्लीज, म त्यो स्कुल जान्न” बा-आमालाई दु:ख दिंदै रुन थालें म । “यस्ता साना तिना कुराले स्कुल नै जान्न भनेर कहाँ चल्छ भन् त ! यस्ता कुरालाई सहन, सामना गर्न पो जान्नु पर्छ, जिन्दगीमा अझै कति स्कुल कलेज जानु छ, कति मान्छेसँग भेट्नु छ, सबै राम्रा मान्छे कहाँ भेटिन्छन् त!” आमाले सम्झाउँदै भन्नुभाको थियो मलाई । “भोली पनि केहि भनी भनें, पर्सी तेरो क्लास टीचरलाई भेटेर कुरा गर्छु म, केही हुन्न नडरा, गल्ती नगरे पछि डराउनु पनि पर्दैन” बा ले ढाडस दिनु भो ।

भोलीपल्ट बिहान क्लास टिचर आउने बित्तिकै निशीले जुरुक्क उठेर भनी – “म्याम, साधना मसँग एकदम झगडा गर्छ, हाम्रो सिट चेन्ज गरिदिनु न! “ मैले छक्क परेर हेरें । “हो साधना ! तिमीले यो सँग झगडा गर्यौ?” म्यामले सोध्नुभो । म आफ्नो सीटबाट उठें तर केही बोलिन, त्यसबेला निशीको पोल सुनाउने हिम्मत मलाई किन आएन मलाई थाह छैन । कसैले म बोलेको त राम्रोसँग सुनेका थिएनन् होला, झगडा गर्ने त प्रश्नै उठ्दैन, शायद यही कुरो बुझेर म्यामले भन्नुभो – “ यो निशीपनि कसै सँग मिल्न सक्दिन भन्या, ल आज देखि पुनम र निशी बस्ने, साधना तिमी कामनासँग बस है!”
त्यसदिन देखि न निशी म सँग बोली, न म नै गएँ उसँग बोल्न । चार क्लास पछि त उसले हाम्रो स्कुल पनि छोडी । उ अहिले कहाँ, के गर्दै होली, मलाई केही थाह छैन, तर कामना र म आज पनि एकअर्काको निकै राम्रा साथी हौं ।

14 comments:

  1. So, Nishi was kind of a jerk, huh?

    ReplyDelete
  2. ya, a kind of. It might be because she was very much pampered child of her indulgent parents.

    ReplyDelete
  3. रमाईलो संस्मरण रहेछ! कतिपय त्यस्ता साथीहरु पछि गएर अत्यन्त भद्र र मिलनसार पनि बन्छन्। निशीलाई फेरि नभेटी त केहि थाहा हुने कुरो भएन।

    ReplyDelete
  4. मलाई पनि निशीलाई एकपल्ट त भेट्नै मन छ तर उ अहिले कहाँ छे, कस्ती भई केही थाह छैन ।

    पढिदिनुभएकोमा धन्यवाद!

    ReplyDelete
  5. उता साझामा पढिसकेको भए पनि आज फेसबुक चलाउँदै जाँदा यो ब्लग देखेँ। ब्लगको शुभकामना दिउँ भनेर छिरेको!
    थप्दै जाउँ है?

    ReplyDelete
  6. This comment has been removed by a blog administrator.

    ReplyDelete
  7. This comment has been removed by a blog administrator.

    ReplyDelete
  8. This comment has been removed by a blog administrator.

    ReplyDelete
  9. This comment has been removed by a blog administrator.

    ReplyDelete
  10. This comment has been removed by a blog administrator.

    ReplyDelete
  11. This comment has been removed by a blog administrator.

    ReplyDelete
  12. This comment has been removed by a blog administrator.

    ReplyDelete
  13. This comment has been removed by a blog administrator.

    ReplyDelete
  14. This comment has been removed by a blog administrator.

    ReplyDelete