Tuesday, June 10, 2008

तिमी


तिम्राबारे केही आज लेख्न मनलाग्यो
तिमी सामु मनका भाव पोख्न मनलाग्यो
देश हाम्री हौ निकु़ञ्ज राम्री तिमी साह्रै
छाडी तिमीलाई जानुपरे पर्ला गाह्रै गाह्रै
छहरा, छाँगा, नदीनाला, निधि अनमोल
पवित्र छौ नओढ है कृत्रिमताको खोल
हिमालको मुटुबाट बग्छ पवन मीठो
छाडी जान्न तिमीलाई बरु खान्छु ढिंडोपीठो
तिमीलाई धनी पार्ने हाम्रो सदिच्छा
तिमीलाई पनि विकासको लामो प्रतिक्षा
स्याहार तिम्रो गर्छौं हामी, सुसार तिम्रो गर्छौं
हेरी तिमीलाई बाँच्छौं हामी तिमीलाई हेरी मर्छौं
शिशिरको ठिहीमा नि तिम्रो रक्षा गर्छौं
तिमीलाई सुन्दर बनाउन हामी लागी पर्छौं
अढाई करोड नेपालीका तिमी रचयिता
तिम्रै काखमा हुर्के बढे भृकुटी र सीता
पुज्छौं तिमीलाई श्रद्धा मानी शिष झुकाउँछौं
लड्नै परे तिम्रालागी धक फुकाउँछौं
गगनमा तिम्रो सँधै चम्कोस् तेज रवि
धमिलिन दिने छैनौं हामी तिम्रो छवि
मानचित्र भित्र हेर्दा तिमी रेणु जस्तै
तर मोती, मुटु हाम्री महत्व प्रशस्तै
शिक्षा रुपी प्रदीपले जगमग पार्छौं
तिम्रा दु:ख कष्ट मार्न पाउ अघि सार्छौं
सकौं तिमीलाई यो जगतमा राज गराउन
नपरोस् है कसै सामु तिमी डराउन
शान्ती अनि बन्धुत्वकी प्रतिक तिमी बन
तिमीलाई सदा माया गर्ने बनोस् हाम्रो मन
आशिर्वाद देउ नेपाल आमा केही बन्न सकौं
शान मान्दै विश्व माझ नेपाली हुँ भन्न सकुँ
रोक्न सकुँ पापीहरुलाई तिम्रो मासु लुछ्न
सक्षम बनुन् हातहरु तिम्रो आँशु पुछ्न
सक्षम बनुन् हातहरु तिम्रो आँशु पुछ्न ।।


( कविताको quality को हिसाबमा भन्ने हो भने यो कविता पक्कै पनि कमजोर हुन सक्छ, तर मेरो मानसपटलमा यसको ठूलो स्थान छ ! यस कवितामा मसँगै हाँस्दै खेल्दै कलेजमा पढेका अधिकांश साथीहरुको नाम मैले उल्लेख गरेकी छु । ती साथीहरु, जसको मेरो जीवनमा ठूलो भूमिका छ । आज यो कविता उनीहरुलाई नै समर्पित ...)