Thursday, February 28, 2008

दो दिल मिल रहें हैं मगर चुपके चुपके, सबको हो रही है खबर चुपके चुपके

" दो दिल मिल रहें है, मगर चुपके चुपके, सबको हो रही है खबर चुपके चुपके........" टिभीमा यो गीत बजिरहेको थियो । गायकको स्वर सँगसँगै मिलाइ मिलाइ ठूलो स्वरमा मेरो भाइपनि गीत गाउँदै थियो । यो उसको सँधैको बानी थियो, तर मलाई भने खुब झर्को लागीरहेको थियो, उसको स्वर सुन्नपनि ! " कति हल्ला गरेको होला गधाले, यहाँ आफूलाई कस्तो टेन्सन भइरा'बेलामा! " मनमनै भाइलाई गाली गरें मैले । तर मुखले केही भनिन, मेरो मनको कुरा फेरि बा आमाले थाहपाउनुहोला भनेर, म चुप लागेर बसें ।

मैले सोचेकीपनि थिइन कहिल्यै, मेरो जिन्दगीमा पनि यो दिन आउला भनेर ! ब्याच्लर्स सम्म गरिसकेर जागिर पनि खानथाले पछि त झन् आफूलाई निकै परिपक्व ठान्थें म ! तर पनि थाहै नपाइ, एउटी सोह्र वर्षे किशोरीले झैं उसलाई आफ्नो सपना, कल्पनामा सजाउनपुगिसकेंछु !!!

उ अर्थात् रोशन मेरो टिमको म्यानेजर, मेरो बोश ! शुरु शुरु मा म उसलाई फुटेको आँखाले पनि देख्न सक्दिनथें । खुब काम लगाउँथ्यो मलाई ! " चेली ! तिम्रो Design Portion सकिन लाग्या छ हैन ! आज त्यो सकेर यो Data Analysis गरिदेउ न है , अलि Important छ यो ।" म अफिस पुग्ने बित्तिकै धेरै जसो यस्तै यस्तै भन्ने गर्थ्यो उ । "माइक्रो बस नपाएर, कति दु:खले हिड्दै आउँदैछु, आउने बित्तिकै काम लाउँछ ; खुब हाकिम भइखाको " यस्तै सोचेर मुर्मुरिन्थें म । तर बिस्तारै उसको मीठो बोली र सहयोगी भावनाले मेरो मनमा छाप छोड्न थाले । मैले गल्तीहरु गर्दा पनि उ कहिल्यै रिसाउँदैनथ्यो, सँधै राम्रो सँग सिकाउँथ्यो, कहिल्यै झर्कोफर्को गर्दैनथ्यो ।


"चेली ! तँ त क्या लक्की यार, रोशन सरको टिममा छेस्, त्यस्तो Soft, Understanding बोश पो पाउनु " साथीहरुले भन्ने गर्थे मलाई । हुन पनि हो, मेरा साथीहरु कहिल्यै टाइममा घर जान पाउँदैनथे । छुट्टिको दिन पनि आएर पेलिन्थे, मैले भने कहिले त्यस्तो पेलिनु परेको थिएन । यिनै सब कुराहरुले होला शायद, उ मलाइ राम्रो लाग्न थालेको थियो ।


एक हप्ता जस्तो अगाडि मात्र त हो, रक्षाले " तर हाम्रो रोशन सरको नाक अलि कार्टुन छ है " भनेपछि केटीहरु गललल हाँसेका थिए । त्यस बेला मलाई भने झनक्क रिस उठ्यो " नाक जस्तो भए नि के त, बानी बेहोरा मा उ जति राम्रो यो अफिसमा अर्को छैन क्यारे, फेरि केहि कार्टुन पनि छैन ल प्लीज ।" प्वाक्क बोलेंछु म । त्यति पाए पछि केटीहरुलाई के चाहियो, मलाई जिस्काउनथाले उनिहरु । म रिसाए जस्तो गरेर त्यहाँबाट हिंडें । मेरो मनमा त्यसबेला एउटा आँधि नै जस्तो चलिरहेको थियो,

आँधि खुशीको थियो, डरको थियो या अरुनै केहीको म भन्न सक्दिन तर त्यस्तो, मेरो मनमा पहिने कहिले भएको थिएन । कहाँ हिंड्दै थिएँ थाह छैन तर हिंड्दै थिएँ म अलि अलि होशमा अलि अलि बेहोशमा । अचानक केहीमा ठोक्किएँ म । " चेली ! यस्तो आत्तिएर कहाँ हिंडेकी तिमी, सन्चो छैन कि क्याहो?" उसको मीठो स्वरका वेभहरुले फेरि मेरो eardrum vibrate गराए । अनि पो झल्याँस्स भएँ म, निद्राबाट ब्युँझे जस्तै । "हैन केही छैन, I am so sorry, म सरसँग ठोक्किएँछु ।" यति भनेर दौडदै म आफ्नो सीटमा गएँ ।

त्यसदिन राति निकै सोचें मैले । रातभरि आफूले उसको लागि अनुभुत गरेका कुराहरुको जोड घटाउ गरे पछि एउटै निष्कर्श निस्कियो, उसलाई आफ्नो मनमन्दिरमा बसाइसकेको, र उसलाई हृदयदेखिनै माया गर्न थालेको कुरा मैले त्यसदिन बल्ल पो बुझें । तर आफ्नो मनमा चलेको आँधिलाई आफ्नै मनमा सिमीत गर्ने निर्णय मैले त्यसै दिन गरेकीथिएँ । उसका अगाडि आफ्नो प्रेम प्रस्तुत गरेर, बहिष्कृत हुन चाहन्नथें म।

फेरि म मध्यम वर्गिय, परम्परागत परिवारकी छोरी, हाम्रो परिवारमा प्रेम विवाह पचाइन्न । रोशनको कुरा बाआमा समक्ष राखेर उहाँहरुको म प्रतिको अपार स्नेह र विश्वास गुमाउन पनि चाहन्नथें । एकातिर मैले पहिलो पटक मनपराएको यस्तो मान्छे, जो मेरो बारे मा के सोच्छ भन्ने समेत मलाई थाह थिएन, अर्कातिर मेरा परिवारका तमाम शदस्यहरु ।

हिजोआज मेरा दिनहरु यस्तै ताना बाना बुन्नमा नै बित्छन् । एउटा अनौठो वातावरण छाइरहन्छ मानसपटलमा, न कसैसँग बोल्न मनलाग्छ, न केही रमाइला काम गर्न नै । अफिसमा हुन्जेल, रोशनको अघिपछि घुमिरहन मनलाग्छ, उसँग बोलिरहन मनलाग्छ, घर आएपछि भने कस्तो कस्तो हुन्छ, झर्को मात्र लाग्छ । त्यसैले आहिले भाइले गीत गाएको सुन्नपनि मलाई झर्को लागेको हो ।

" छोरी ! के गरेर बसेकी तँ यहाँ, हिजोआज बोलेको पनि देख्दिन, के भो ?" मेरो कोठाभित्र छिर्दै सोध्नुभो आमाले । " केही होइन, अफिसमा कामको अलि प्रेशर छ अहिले, अनि पढ्नु पनि छ त्यसको लागि अलि अलि त्यसैले" मैले आमातिर नहेरी जवाफ दिएँ । म उहाँसँग नजर मिलाउन चाहन्नथें । म मेरी आमाकालागि किताब जस्तै हुँ, मेरो आँखामा हेरेरै मनको कुरा चाल पाउनुहुन्छ आमा, त्यसैले म अन्तै फर्केर बसिरहें ।

"अब त ब्याच्लर लेभल पनि सकियो, मास्टर्स यहाँ गर्दिन भन्छेस्, आफ्नो खुट्टामा पनि उभिइहालिस्, बिहे गर्ने उमेर पनि भयो, तेरो के छ विचार ?"

म छाँगाबाट खसेजस्तै भएँ , आफ्ना मनका भावनालाई रोशनका अगाडि छताछुल्ल पोखिदिने हिम्मत नभएपनि, उ आशिन भएको मेरो मनमन्दिरको सिंहाशनमा अरु कसैलाई राख्ने पक्षमा म कदापि थिइन । मलाई के गरुँ के नगरुँ भयो ।

"के भो ? किन नबोलेकी ?" फेरि सोध्नुभो आमाले ।

"आमा.... म...... रोशन...... हुन त उसले मेरो बारे मा के सोचेको छ मलाई केही थाहछैन , न त मैले आफ्नो बारेमा नै उसलाई केही भनेकी छु, मेरो केही गल्ती छैन आमा, उसलाई मैले कहिले देखि मनपराउँनथालें, त्योपनि मलाई राम्रो थाह छैन, तर अहिले नै बिहे ?? "

मेरो गालामा एक झापड कस्ने हुनु भो आमाले झस्तो लागेकोथ्यो मलाई तर हान्नु भएन , शान्त हुँदै भन्नु भो - " हेर् नानी!! जीवन सुखी बनाउनु छ भने बिहे उसँग गरेको राम्रो, जसले आफूलाई माया गर्छ , तलाई केहि कर छैन, पढेकी, बुझ्ने छोरी जे ठिक लाग्छ गर तर भोली, एकजना आउँदैहुनुहुन्छ, तँलाई भेट्न, उहाँ आफ्नो छोराको बिहेको कुरा लिएर आउँदैहुनुहुन्छ, राम्ररी भेट् । निर्णय जे गरेपनि पछि गर्नु । "

के गर्ने के नगर्नेको रनभुल्लमा परें म । आमाले भनेको कुरा ठिकै पनि हो । म रोशनको एकतर्फि प्रेममा परेर मेरा बा आमाको शिर झुकाउन चाहन्न । मैले रोशनलाई मनपराउनु भनेको एउटा बालकले चन्द्रमालाई मनपराउनु जस्तै हो फेरि, रुप, शीप, योग्यता लगायतका तमाम कुराहरुमा उ म भन्दा धेरै माथि छ । यही सब सोचाइमा यो रात पनि बित्यो ।

पहिले पहिले कसैले "केटी हेर्ने" भनेर कुरा मात्र गर्यो भनेपनि, मेरो पारो तात्थ्यो, "पसल मा सजाएर राखेको गुडिया हो केटी ?" यस्तै भन्थें म, तर आज मौन छु म । कुनै कुरामा कसैसंग विद्रोह गर्ने क्षमता नभएजस्तै भएको छ मलाई, आफूलाई युद्धमा हारेर फर्केको सैनिक जस्तै मानिरहेकी छु म ।

आफ्नै कोठामा बसेर किताब हेरिरहेकी थिएं म, बाहिर को को मान्छे आएको, गफगाफ गरेको पनि सुनिरहेकीथिएं । मनमा एकतमासको ढ्याङ्ग्रो बजिरहेको थियो ।

"चेली, भित्र के गर्दैछ्यौ छोरी बाहिर आउ त । " अरु बेला तँ भनेपनि कोही मान्छे आएका बेला तिमी भन्नुहुन्थ्यो मेरा बाले ! म डराउँदै अझ भनुँ अलिअलि काम्दै बैठक कोठामा गएँ । नजर उठाएर कसैलाई हेर्ने सामर्थ्य थिएन मेरो, त्यहीपनि त्यहाँ बसेका दुई जना प्रौढ व्यक्तिहरुलाई नमस्ते गरें मैले ।

"खै छोरो पनि आइपुग्नु पर्ने हो, किन ढिलो गरेको हो " एकजना ले झ्यालबाट यसो बाहिर हेर्दै भने ।

"काठमाडौंको ट्राफिक जामले त होला नि हजुर, भनेका बेला मा को कहाँ नै पुग्न सकिन्छ र !" मेरा बाले भन्नुभो । कुरा ट्राफिक जाममैं बढ्यो, म भनें लुसुक्क आफ्ना कोठातिर भागें ।

"को होला त्यो मान्छे, कस्तो होला ? मैले उसैसंग बिहे गर्नु पर्यो भने कसरी, के गर्ने होला ? म त रोशनलाई माया गर्छु नि, जिन्दगी अर्कैसंग कसरी बिताउने !!" भावनाका यस्तै तानाबाना फेरि बुन्न थालें म । बेकार मा त्यो अफिसमा जब पाएँछु, नपाएको भए नि हुन्थ्यो नि, हेत्तेरिका, " Love Stories only exist in reel life, not in real life" भन्ने मैले आफैं आज यो के दिन देख्नु परेको हो .......

"हजुर यहि हो उसको कोठा " मेरो भाइको आवाज सुनें मैले । लौ न !! कसलाई हो मेरै कोठामा पो ल्यायो जस्तो छ, नभन्दै मेरो ढोकाबाट "टक टक " को आवाज आयो । बोझिलो मन लिएर, रसाएका आँखा पुछ्दै, ढोका खोलें मैले ।

झसँग भएँ म, मेरा नेत्र विश्फारित भए किनकि मेरो अगाडि रोशन उभिएको थियो ।

"हेर न! आउँदा आउँदै ढिलो भयो, बुवा काकासँग त परिचय गरिसक्यौ रे होइन ?" अवाक् भएकी थिएँ म, उ आफ्नै शैलीमा बोल्दै थियो ।

"पहिले नै तिमीलाई सोध्नु भन्दा आमाबुवा मार्फत कुरा गर्नु नै ठिक होला जस्तो लाग्यो मलाई त, साँच्चै भन्दा तिमीलाई सोध्ने मौकापनि मिलेको थिएन; तर पनि अन्तिम निर्णय त तिम्रै हुनेछ, भन न, के तिमी मसँग बिहे गर्छ्यौ ? सहयात्री बन्छ्यौ मेरो जीवन यात्राको ? "

कति सजिलैसँग बोल्यो उ, म भने बोल्न सक्ने स्थितिमा नै छैन । मेरा आँखाबाट बाहिर झर्न आँशुका थोपाहरु तँछाड मछाड गर्दैछन् , खुशीका आँशु, जीवनमा कहिले अनुभुत नगरेको मीठो अनुभुतिका आँशु । म मेरो रोशनलाई निर्निमेष हेरिरहेकी छु, अनन्त अनन्त सम्म यत्तिकै हेरिरहन चाहन्छु पनि । अनि पर कतैबाट फेरि यो गीत बजिरहे झैं भएको छ - " दो दिल मिल रहें हैं मगर चुपके चुपके, सबको हो रही है खबर चुपके चुपके ........"

!!! समाप्त !!!!

No comments:

Post a Comment