Tuesday, May 1, 2012

कविता

बाबु, तिमी ठूलो भएपछि मलाई सोध्लाउ
"आमा ! तिम्रो देश कस्तो छ ?"
म भनुँला
"डाँडा-काँडा, नदी-नालाले भरिएको
झलमल्ल हिमालले सजिएको
एकबाजी आएर घर फर्कन बसन्त भुल्छ जहाँ [1]
हर आँखामा लाली-गुराँस हत्केलामा सुनगाभा फुल्छ जहाँ[2]
सानु छ तर अनमोल मोती जस्तो छ[3]
मेरो प्यारो देश साँच्चै स्वर्ग जस्तो छ "

अनि तिमी मैले वर्णन गरेको देश खोज्दै जाउला
मुटु भरी रहरहरु पाल्दै पोस्दै जाउला
तर,
प्रदूषित भैसकेका नदी-नाला देख्छौ जब
जताततै फोहरै- फोहरमा टेक्छौ जब
सगरमाथाको शिर लज्जाले झुकेको पाउँछौ
प्रत्येक मन पीडाले दुखेको पाउँछौ

तिमी आफ्नी आमाबारे के सोच्लाउ तब
तिमी उसको देशबारे के सोच्लाउ तब

बरु तिमी मलाई कहिले नसोध्नु
"आमा तिम्रो देश कस्तो छ?" भनेर
म सत्य बोल्न सक्दिन
"मेरो देश खोइ कस्तो कस्तो छ" भनेर
म झुटो भन्न सक्दिन
"मेरो देश स्वर्ग जस्तो छ" भनेर!!


[1] : "मेरो देश" - भूपी शेरचन
[२]: "आँखामा लालीगुराँश हत्केलामा सुनगाभा " - मोहन हिमांशु थापा
[३]: "के नेपाल सानो छ ?" - लक्ष्मीप्रसाद देवकोटा

1 comment: