भाषाको कुरा

नेपालीलाई एउटै मालामा उन्ने नेपाली भाषा बोलाइमा जति सहज जस्तो लाग्छ त्यति नै अराजक छ लेखाइमा । केही विद्वान्हरूले आगन्तुक शब्दहरूको स्वरूप बदल्न चाहनुभयो र बदलिदिनुभयो जसको फलस्वरूप शहर सहर भयो, कानून काननु भयो, भारतको देहरादून नेपालीमा लेखिँदा देहरादुन भयो तर सार्वजनिक प्रयोगमा भने आउन सकेन ।

डा. तारानाथ शर्माले सुरुमा 'सर्मा' को खुबै प्रचार गर्नुभयो तर पछि उहाँ स्वयंले 'सर्मा' होइन 'शर्मा' लेख्न थाल्नुभयो । आगन्तुक शब्दका 'श' कारहरू 'स' हुनुपर्छ भन्नेहरूले 'शहर' लाई 'सहर' बनाए 'शहीद' सहिद । बालकृष्ण पोखरेलले पनि यस्तैमा सहमति जनाउनुभयो । त्यसैले आफ्नो पुस्तकको नाम 'झर्रो सब्द्यौली' राख्नुभयो । 'शब्द+यौली'- सब्द्यौली । किन यस्तो भयो भन्दा यो शब्द तद्भव हो भन्नुभयो तर पछि स्वयं पोखरेलले आफ्नो किताबको दोस्रो संस्करणमा 'झर्रो शब्द्यौली' भनेर फेरि मोटो श नै राख्नुभयो । खै विद्वान्हरूमा स्थिरता र दृढता ?

नेपाली व्याकरणमा हेमराज शर्माको चन्दि्रका व्याकरणबाट अतिक्रमण हुनथालेको हो । उनले सर्वनामको अतिक्रमण गरेका हुन्, उनले तेसले, एसले र इनी जस्तो रूपलाई बदलेर त्यसले, यसले र यिनी बनाए । यस्तो बनाउनुमा कुनै विशेष कारण भने भेटिएन । हामी उच्चारण गर्दा तेसले नै भन्छौं, त्यसले भन्दैनौं एसले नै भन्छौ, यसले भन्दैनौं । 'जे बोलिन्छ, त्यही लेखिनु पर्दछ' भन्ने कुरामा मेरो पनि सहमति छ । सम्भवतः पोखराका भाषाविद् प्रा. मुकुन्दशरण उपाध्यायले माथिका कुनै कुरामा पनि सहमति दिनुभएन र छुट्टै बाटो रोज्नुभयो । यस विषयमा धेरै विद्वान्हरूले सहमत हुनथालेको पनि देखिएको छ ।

विभिन्न छापा माध्यममा नेपाली भाषाको प्रयोगलाई हेर्ने हो भने दिक्कलाग्दो छ । विशेषगरी आगन्तुक र विभक्तिहरूको प्रयोग । एउटा अखबार 'रेस्टुरेन्ट' लेख्छ, अर्को 'रेष्टुरेन्ट' । हेर्ने हो भने त्यस्ता थुप्रै हिज्जे छन् जसको रूपको कुनै स्थायी स्वरूप छैन । कुनै पनि भाषाका लागि यहाँभन्दा दुःखलाग्दो कुरा के हुन्छ ?

यो सब समस्याको कारण विसं २०३४ सालमा आगन्तुक शब्दहरूमा फेरबदल गर्नु र जनजिब्रोमा भएका सर्वनाम शब्द फालेर यस, त्यसलाई भित्र्याइनु नै हो । त्रिवि र प्रज्ञा प्रतिष्ठानका विद्वान्हरूले 'कानून' लाई 'कानुन', 'गरीब' लाई 'गरिब' इत्यादि लेख्ने नयाँ नियम ल्याइदिए । आगन्तुक शब्दहरूलाई नेपाली भाषामा भित्र्याइनु राम्रो कुरा हो तर एउटा कुरा के भने यिनीहरू जे रूपमा छन्, त्यही रूपमा भित्र्याइनुपर्छ । यिनीहरूको रूप बिगार्नु हुँदैन ।

अंग्रेजी आगन्तुक शब्दहरू पनि प्रशस्त रूपमा नेपाली भाषामा प्रयोग हुँदै आएका छन् । अझ जनजिब्रोमा त यिनीहरूले बासै गरेका छन् । फोन, टिभी, मोबाइल, सोफा, टेबल आदि । 'तिम्रो भिसा लाग्यो ?' ठेट नेपालीमा यसको रूप यस्तो हुन्छ 'तिम्रो प्रवेशाज्ञा लाग्यो ?' यस्तो भइसक्यो, भिसा भन्नेबित्तिकै सारा नेपालीले बुझ्छन् तर प्रवेशाज्ञा भन्दा कमैले बुझ्छन् । भिसाको हिज्जे कस्तो हुनुपर्छ ? यसको अंग्रेजी स्वरूप जस्तो छ, त्यस्तै लेखिनुपर्छ । अंग्रेजी शब्दकोशमा हेर्नुभयो भने यसको उच्चारण 'भीजा' गरिएको छ । यदि हामी नेपालीमा लेख्ने हो भने 'भीजा' लेखिनुपर्छ अरू रूप पाइँदैन । स्टेशन ठीक स्टेसन बेठीक, स्कूल ठीक स्कुल बेठीक, स्वेटर ठीक स्विटर बेठीक, पेण्ट ठीक पाइण्ट बेठीक ।

विभक्तिको प्रयोग पनि नेपाली भाषाको गम्भीर समस्यो हो । एउटा समाचारको शीर्षक हेरौं 'पहिरोबाट परिवारका तीन जनाको मत्यु', यसमा सबै विभक्तिहरू जोडेर लेखिएका छन् । विभक्तिहरूलाई नजोडी लेख्ने हो भने भाषा सरल हुन्छ । विभक्तिलाई नजोडी लेख्दा यस्तो हुन्छ 'पहिरो बाट परिवार का तीन जना को मृत्यु' । विभक्ति जोडेर लेख्दा नयाँ शब्द सिर्जना हुन्छ जुन अशब्द बन्न सक्छ जसको कुनै अर्थ हुँदैन । उदाहरणका लागि 'तालिमले' मैले झट्ट पढ्दा 'ताली मले' पढेँ ।

्रपछि बल्ल बुझेँ यस्तो पो रहेछ 'तालिम' हो । विभक्ति छुट्याएर लेख्दा नै नेपाली भाषा सरल हुन्छ जस्तो लाग्छ । हिन्दी या अंग्रेजीमा पनि विभक्ति जोडेर लेखिँदैन । विभक्ति जोड्ने कुराको विपक्षमा पनि मुकुन्दशरणले कुरा उठाइसक्नुभएको छ तर त्यसतर्फ भाषा विद्वान्हरूको ध्यान गएजस्तो पाइएन । धेरै मानिस बोल्न रुचाउँछन्, लेख्न रुचाउँछन् तर अप्ठ्यारो र कुनै मानक नभएको भाषा कोही पनि सिक्न चाहँदैनन् । यसको प्रचार कम हुन्छ । यति सुन्दर र मीठो नेपाली भाषालाई अजर अमर बनाउन भाषाविद्हरू मिलेर अहिले रहेका विवादलाई सुल्झाउन अति जरुरी छ ।

-सुमन घिमिरे

सौराहा, चितवन

6 comments:

Prabesh said...

धेरै उठिरहने कुराहरू यिन् यी । अब भाषा सहज जसरी हुन्छ त्यसरी नै बोल्न थालिसके मान्छेहरू ! खै साँच्चै झर्रा खोजेर बोल्नु ठिक हो कि सहजता खोज्नु उपयुक्त हो ? आफैँमा भर पर्ने कुरा हो...

प्रबिण थापा said...

sundar lekh ko laagi dhanyabaad sadhana ji.

Sadhana Sharma said...

जसरी सहज हुन्छ त्यसरी बोल्नु शुरुमा झट्ट सोच्दा ठिकै लाग्न नि सक्छ, तर त्यसो गर्दा कलान्तरमा हाम्रो भाषाको मौलिकता रहँदैन जस्तो लाग्छ ।।। भाषाका कुराहरुमा रहेका विवादहरु सुल्झिएभने हामीले पनि आफ्नु भाषा अझ बढी जान्ने मौका पाउने थियौं।। विभक्ति छुट्याएर लेख्दा भाषा सरल होला जस्तो चैं मलाई लागेन, आफु त्यसैमा बानी परेकोले पनि होला कि ?

@प्रबिणजी : यस लेखका रचनाकार "सुमन घिमिरे" दाइ हुनुहुन्छ, मसम्म आइपुगेको धन्यवादको पोको मैले सुमन दाइलाई नै हस्तन्तरण गर्ने जमर्को गरे है !

@सुमन दाइ : लेखकालागि धन्यवाद :)

Bhim Prasad Ghimire said...

लेख्ने सुमनजी र पढ्नका लागि सजिलो पारिदिने साधनाजी दुवै जनालाई धन्यवाद । कुरा मननीय छ । नेपाली भाषाको बिजोक हुनुमा प्रयोग गर्ने प्रवृति जिम्मेवार हो जस्तो लाग्छ । झर्रो र ठेटका कुरा गर्दागर्दै पनि हाम्रो भाषाको प्रचार राम्ररी हुनुपर्छ भन्ने मेरो बुझाइ हो । सरलीकरण आवश्यक छ । तर, सरलीकरण गरिदा मर्म विपरीतको अर्थ आउने हुनुहुन्न ।

Dhruba Panthi said...

नेपाली भाषामा रहेका विविध समस्याहरुको बारेमा लेखिएको यो एउटा गहन लेख हो। नेपाली भाषाको लेख्य रुपमा एकरुपता आउन अझै केही समय लाग्ला नै तर त्यसो भन्दैमा आमरुपमा स्वीकृतजस्तै भैसकेका नियम (जस्तै आगन्तुक शब्द लेख्ने तरिका, विभक्तिको प्रयोग आदि) मा थप विवाद गर्दा चाहिँ भाषा झन् अराजक हुन सक्छ। यस्ता कुरामा स्वस्थ बहसको खाँचो भने अवश्य पनि छ।

Ujjwol Lamichhane said...

विभक्ति जोडेर लेख्नु नेपाली भाषाको मौलिकता हो र यो राम्रो पनि हो। राम्रो किन हो भने -
" It is being loyal to it's mother language Sanskrit"
संस्कृतमा पनि त विभक्ति जोडेर लेखिन्छ । भाषा छोटो हुनुपर्छ । विभक्ति जोडेर लेखेमा यस "भाषा छोटो हुनुपर्छ" भन्ने कुरालाइ मद्दत पुग्छ ।

अनि
त्यो शहरलाइ - सहर लेखने त पागलै हो । तर यस्ति कुरामा हाम्ले उच्चारण सुधार्नु पर्छ । स र श को उच्चारण फरक छ । यदि हामी सहि उच्चारण गर्थै त यस्तो हुने थिएन, तर यस्को मतलब मतलब यो होइन की शब्द नै बिगार्नु पर्छ, जसरी शहरलाइ - सहर लेख्न खोजियो ।