नेपालीलाई एउटै मालामा उन्ने नेपाली भाषा बोलाइमा जति सहज जस्तो लाग्छ त्यति नै अराजक छ लेखाइमा । केही विद्वान्हरूले आगन्तुक शब्दहरूको स्वरूप बदल्न चाहनुभयो र बदलिदिनुभयो जसको फलस्वरूप शहर सहर भयो, कानून काननु भयो, भारतको देहरादून नेपालीमा लेखिँदा देहरादुन भयो तर सार्वजनिक प्रयोगमा भने आउन सकेन ।
डा. तारानाथ शर्माले सुरुमा 'सर्मा' को खुबै प्रचार गर्नुभयो तर पछि उहाँ स्वयंले 'सर्मा' होइन 'शर्मा' लेख्न थाल्नुभयो । आगन्तुक शब्दका 'श' कारहरू 'स' हुनुपर्छ भन्नेहरूले 'शहर' लाई 'सहर' बनाए 'शहीद' सहिद । बालकृष्ण पोखरेलले पनि यस्तैमा सहमति जनाउनुभयो । त्यसैले आफ्नो पुस्तकको नाम 'झर्रो सब्द्यौली' राख्नुभयो । 'शब्द+यौली'- सब्द्यौली । किन यस्तो भयो भन्दा यो शब्द तद्भव हो भन्नुभयो तर पछि स्वयं पोखरेलले आफ्नो किताबको दोस्रो संस्करणमा 'झर्रो शब्द्यौली' भनेर फेरि मोटो श नै राख्नुभयो । खै विद्वान्हरूमा स्थिरता र दृढता ?
नेपाली व्याकरणमा हेमराज शर्माको चन्दि्रका व्याकरणबाट अतिक्रमण हुनथालेको हो । उनले सर्वनामको अतिक्रमण गरेका हुन्, उनले तेसले, एसले र इनी जस्तो रूपलाई बदलेर त्यसले, यसले र यिनी बनाए । यस्तो बनाउनुमा कुनै विशेष कारण भने भेटिएन । हामी उच्चारण गर्दा तेसले नै भन्छौं, त्यसले भन्दैनौं एसले नै भन्छौ, यसले भन्दैनौं । 'जे बोलिन्छ, त्यही लेखिनु पर्दछ' भन्ने कुरामा मेरो पनि सहमति छ । सम्भवतः पोखराका भाषाविद् प्रा. मुकुन्दशरण उपाध्यायले माथिका कुनै कुरामा पनि सहमति दिनुभएन र छुट्टै बाटो रोज्नुभयो । यस विषयमा धेरै विद्वान्हरूले सहमत हुनथालेको पनि देखिएको छ ।
विभिन्न छापा माध्यममा नेपाली भाषाको प्रयोगलाई हेर्ने हो भने दिक्कलाग्दो छ । विशेषगरी आगन्तुक र विभक्तिहरूको प्रयोग । एउटा अखबार 'रेस्टुरेन्ट' लेख्छ, अर्को 'रेष्टुरेन्ट' । हेर्ने हो भने त्यस्ता थुप्रै हिज्जे छन् जसको रूपको कुनै स्थायी स्वरूप छैन । कुनै पनि भाषाका लागि यहाँभन्दा दुःखलाग्दो कुरा के हुन्छ ?
यो सब समस्याको कारण विसं २०३४ सालमा आगन्तुक शब्दहरूमा फेरबदल गर्नु र जनजिब्रोमा भएका सर्वनाम शब्द फालेर यस, त्यसलाई भित्र्याइनु नै हो । त्रिवि र प्रज्ञा प्रतिष्ठानका विद्वान्हरूले 'कानून' लाई 'कानुन', 'गरीब' लाई 'गरिब' इत्यादि लेख्ने नयाँ नियम ल्याइदिए । आगन्तुक शब्दहरूलाई नेपाली भाषामा भित्र्याइनु राम्रो कुरा हो तर एउटा कुरा के भने यिनीहरू जे रूपमा छन्, त्यही रूपमा भित्र्याइनुपर्छ । यिनीहरूको रूप बिगार्नु हुँदैन ।
अंग्रेजी आगन्तुक शब्दहरू पनि प्रशस्त रूपमा नेपाली भाषामा प्रयोग हुँदै आएका छन् । अझ जनजिब्रोमा त यिनीहरूले बासै गरेका छन् । फोन, टिभी, मोबाइल, सोफा, टेबल आदि । 'तिम्रो भिसा लाग्यो ?' ठेट नेपालीमा यसको रूप यस्तो हुन्छ 'तिम्रो प्रवेशाज्ञा लाग्यो ?' यस्तो भइसक्यो, भिसा भन्नेबित्तिकै सारा नेपालीले बुझ्छन् तर प्रवेशाज्ञा भन्दा कमैले बुझ्छन् । भिसाको हिज्जे कस्तो हुनुपर्छ ? यसको अंग्रेजी स्वरूप जस्तो छ, त्यस्तै लेखिनुपर्छ । अंग्रेजी शब्दकोशमा हेर्नुभयो भने यसको उच्चारण 'भीजा' गरिएको छ । यदि हामी नेपालीमा लेख्ने हो भने 'भीजा' लेखिनुपर्छ अरू रूप पाइँदैन । स्टेशन ठीक स्टेसन बेठीक, स्कूल ठीक स्कुल बेठीक, स्वेटर ठीक स्विटर बेठीक, पेण्ट ठीक पाइण्ट बेठीक ।
विभक्तिको प्रयोग पनि नेपाली भाषाको गम्भीर समस्यो हो । एउटा समाचारको शीर्षक हेरौं 'पहिरोबाट परिवारका तीन जनाको मत्यु', यसमा सबै विभक्तिहरू जोडेर लेखिएका छन् । विभक्तिहरूलाई नजोडी लेख्ने हो भने भाषा सरल हुन्छ । विभक्तिलाई नजोडी लेख्दा यस्तो हुन्छ 'पहिरो बाट परिवार का तीन जना को मृत्यु' । विभक्ति जोडेर लेख्दा नयाँ शब्द सिर्जना हुन्छ जुन अशब्द बन्न सक्छ जसको कुनै अर्थ हुँदैन । उदाहरणका लागि 'तालिमले' मैले झट्ट पढ्दा 'ताली मले' पढेँ ।
्रपछि बल्ल बुझेँ यस्तो पो रहेछ 'तालिम' हो । विभक्ति छुट्याएर लेख्दा नै नेपाली भाषा सरल हुन्छ जस्तो लाग्छ । हिन्दी या अंग्रेजीमा पनि विभक्ति जोडेर लेखिँदैन । विभक्ति जोड्ने कुराको विपक्षमा पनि मुकुन्दशरणले कुरा उठाइसक्नुभएको छ तर त्यसतर्फ भाषा विद्वान्हरूको ध्यान गएजस्तो पाइएन । धेरै मानिस बोल्न रुचाउँछन्, लेख्न रुचाउँछन् तर अप्ठ्यारो र कुनै मानक नभएको भाषा कोही पनि सिक्न चाहँदैनन् । यसको प्रचार कम हुन्छ । यति सुन्दर र मीठो नेपाली भाषालाई अजर अमर बनाउन भाषाविद्हरू मिलेर अहिले रहेका विवादलाई सुल्झाउन अति जरुरी छ ।
-सुमन घिमिरे
सौराहा, चितवन