गलत कामै गर्न भनी संसारमा आको होइन
बाध्य छु म, भ्रष्टाचारै गर्ने मन त भाको होइन
छोइ नसक्नु महँगी छ परिवार पाल्नै पर्यो
सबको डिमान्ड पुरा गर्न मैले पैसा फाल्नै पर्यो
चित्त सबको बुझाउन हो, त्यसै घुस खाको होइन
बाध्य छु म, भ्रष्टाचारै गर्ने मन त भाको होइन
सत्यवादी बन्न खोज्दा शत्रुमात्र धेरै पाएँ
बांगो बाटो हिंडे देखी मित्रै-मित्र पो बनाएँ
समाजैले भ्रष्ट पार्यो आँफैँ बुद्धी आको होइन
बाध्य छु म, भ्रष्टाचारै गर्ने मन त भाको होइन
महलबाट जेल डेरा सर्ने मन त भाको होइन
बाध्य छु म, भ्रष्टाचारै गर्ने मन त भाको होइन
Friday, May 3, 2013
Monday, April 29, 2013
:(
आज राती सुतिरहेका बेलामा कोही सुँक्क सुँक्क रोएको आवाज सुनें,
‘सपना राम्रो देखेन जस्तो छ’ हतार हतार उठेर बत्ती बाल्दै छोरोतिर हेरें, उ
त मस्त निद्रा मैं रहेछ. ‘लौ न बूढा पो रुँदै छन् कि क्या हो लोग्ने
मान्छे भएर’ भन्दै श्रीमान तिर हेरें, उनी नि मस्तै थिए. अब भने मेरो मन मा
चिसो पस्यो, रुवाइको आवाज झन् झन् ठूलो बन्दै थियो. ‘ए बूढा!! उठ न,सुन न
को रोइरा’ छ’ श्रीमानलाई झक्झक्याउँदै भनें; ‘ह्या डिस्टर्ब नगर न बिहान
हेरम्ला’ भन्दै अर्को पट्टि फर्केर सुते उनी. मेरो भने मन मानिरहेको थिएन.
डराई रहेको मनलाई मजबूत बनाउंदै म बाहिर निस्किएँ. त्यसरी रुने त मैले बारी
भरी रोपेका सयपत्री फूल पो रहेछन. ‘लौ फूलपनि यसरी आवाज निकालेर रुन
सक्दा रहेछन , के पुगेन यिनीहरुलाई, पानी त दिई राखेकै थिएँ टाइम टाइममा’
आफैंसंग बोल्दै थिएँ, ती त झन् भक्कानिएर रुन थाले. ‘अब कुनै दिदी-बहिनीले
दाजुभाइलाई सयपत्रीको माला लगाई दिदैनन होला, अब कसैले माया गरेर हामीलाई
रोप्दैनन होला, हामी यो संसारबाट लोप हुने भयौं’ जीवन मा पहिलो पटक
फूलहरुले बोलेको, रोएको देख्दै थिएँ म, बोट-बिरुवा पनि लिभिंग थिन्ग्स हुन्
भनेर पढेको सम्झें, बोल्नै सक्लान जस्तो त कहिले लागेको थिएन !! “किन तेसो
भन्छौ सयपत्री हो, यति राम्रा सयपत्री किन नरोप्नु,किन डराएका तिमीहरू ?”
माया गरेर रोपेका फूलहरुलाई सुम्सुम्याउदै भनें. “तिमी त समाचार हेर्दिनौ
जस्तो छ, हेर्यौ भने तिमीले पनि हामीलाई उखेलेर फालिदेलिउ” मेरा फूल मैं
माथि खनिए.. “समाचार ?” “हो त, नेपालमा कुन दिदी बहिनी आफ्ना दाजुभाइलाई
नेता जस्तो भएको हेर्न खोज्लान् ? भ्रष्ट, नालायक नेता भनाउँदाहरुले
बिछट्टै मनपराएको मलाई कुन साधारण नेपालीले मनपराउलान ? प्लीज केहि गर,
मलाई सर्व-साधारण नेपालीको गलामा सजिन देउ” मेरा फूल झन् रुन थाले, कहिले
नबोल्ने, सधै हाँसिरहने अनि वातावरणलाई नै हंसिलो बनाउने फूलहरुलाई पनि
रुवाउन सक्ने हाम्रा नेता सम्झेर झन् रिस उठ्यो मलाई, तर आफ्नै रगत तताउनु
सिवाय मैले गर्न नै के सक्थें र .. ‘नरोओ नानी हो, अब चुनाब आउँदैछ नि,
तिमीहरुलाई रुवाउने सबैपार्टीका नेताले आफ्नु चुरीफुरी देखिहाल्छन्’ ..
‘त्यो चुनावपछि त झन् कति जना भ्रष्टहरुको गला सजाउनु पर्नेहो, भन्नु मात्र
त हो चुनाव, उठ्ने यिनै होलान्’नेपालीको रगतमैं राजनीति हुन्छ रे भन्थे यी
रगतै नहुने फूल नि अलि अलि राजनीति बुझ्दा रछन..अब मैले यिनीहरुलाई भन्ने
केहि शब्द पाइन, एकछिन रुन्छन अनि थाक्छन भनेर भित्र पसें. बिहान हुने
बित्तिकै सब फूल टिपेर फ्रिजमा राख्छु बरु, फेरी कुन नेता कताजान खोज्छ अनि
उसका अरौटे भरौटे मेरा फूल लुट्न आए भने के गर्नु ?
Subscribe to:
Posts (Atom)